काठमाडौं । सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरुवात भएको छ ।
बिहीबार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आयोजित ‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतिय सेवा प्रवाह प्रणाली विस्तार’ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सेवा उद्घाटन गरेका हुन् ।
यससँगै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी चालक अनुमति पत्रको फाराम बुझाउँदा सेवाग्राहीले बुझाउनु पर्ने राजस्व अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिनेछ । सेवा बिहीबार उद्घाटन भए पनि शुक्रबारदेखि मात्र सुरु हुने बताइएको छ ।
अनलाइन भुक्तानी प्रणाली सुरु भएसँगै सेवाग्राही कार्यालयमा लाम लाग्नुपर्ने अवस्था कम हुँदै जाने मन्त्री ज्वालाले बताए । ”यो सुरुवात हो । सुरुवात जुन उत्साहका साथ सुरु गरेका छौं । दिगो रूपमा निरन्तरता दिनु छ ।
भरपर्दो र सहज ब्ननाउनु छ,” कार्यक्रममा बोल्दै उनले भने, ”यातायात व्यवस्था विभाग र कार्यालयमा लाम लाग्ने क्रम कम गर्नु छ । ट्रायल दिने सेवालाई पनि लाइनविहीन बनाउनु छ । बायोमेट्रिक पनि अनलाइनबाटै हुने बनाउनुछ ।”
पहिलाे चरणमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुरु भएकाे याे सेवा दाेस्राे चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्राे चरणमा देशैभर लागू गर्ने याेजना छ ।
यसका लागि भुक्तानी सेवाप्रदायकहरूसँग सहकार्य तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएकाे छ ।
Leave a Reply