काठमाडौं। हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ।
तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको छ।
प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न सकिँदैन।
नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो। चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस्।
परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरूकै मार्फत्बाट भएकोमा पनि कसैको दुई मत छैन।
पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको देखिन्छ।
त्यसँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो। यसैबाट नेपाल विद्यार्थि संघले औपचारिक जन्म पायो।
जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
Leave a Reply